Home > Uncategorized > फरक युवा,फरक जिन्दगी


जीवनको सबैभन्दा ऊर्जाशील उमेर हो, युवावस्था। ४० वर्ष उमेरमुनिकालाई युवा वर्गमा राख्ने गरिन्छ। यो देशले हामीलाई बेरोजगार बनायो, काम दिएन भनेर खाडी मुलुक उड्ने नेपाली युवाहरूको लर्को छ। हातमा कुनै सीप नलिई लहलहैको भरमा बिदेसिनेहरूको न राम्रो कमाइ छ, न त मान प्रतिष्ठा नै। अझ जोखिमपूर्ण काममा लाग्ने कतिपय युवाहरू लाऊँलाऊँ र खाऊँखाऊँको उमेरमा बाकसमा बन्द भएर आउँदा धेरै बाबुआमाका मन भक्कानिन्छ। कोही जोेखिमयुक्त काम गर्दा शारीरिक रूपमा अशक्त भई घर फर्किन बाध्य हुन्छन्। र, परिवारको बोझको रूपमा मात्र रहन्छन्।

तर जन्मजात अशक्त हुनेहरूको अवस्था झन् के होला ? परिवारले नै छि छि दुरदुरकोे पात्र बनाएपछि उनीहरूको बाँच्ने रहर कसरी फक्रिन सक्ला ? झमक घिमिरे अहिले स्थापित साहित्यकार मानिन्छिन्। सरकारले उनलाई आवासको सुविधासहित आजीवन भत्ताको व्यवस्था गरेको छ। शारीरिक रूपले अशक्त जन्मिएकी झमकलाई परिवारले पहिले कति हेलाँ होचो ग¥यो, त्यो उनले मदन पुरस्कार प्राप्त ‘जीवन काँडा कि फूल’ पुस्तकमा उल्लेख गरेकी छिन्। शारीरिक रूपले अशक्त तर बौद्धिक रूपले सबल तमाम युवाहरू होलान्, जसको प्रतिभा परिवारले पनि बेवास्ता गर्ने गरेको छ। समाजले त झन् तिनीहरूलाई बुझ्ने कुरैै भएन। यस आलेखमा भक्तपुर फरक युवाका फरक जिन्दगी भोगाइ छ।

विजेश वज्राचार्य

भक्तपुर तोंछे टोलका ३१ वर्षीय विजेश वज्राचार्यको राम्ररी बोली फुट्दैन। उनको लवज बुझ्न निकै धैर्य गर्नुपर्छ। उनका हात बाँगिएका छन्। हिँडाइमा गति छैन। मस्तिष्कको पक्षघातले उनको मेरुदण्ड माथिको भागले काम गर्दैन। लुला हातले काम नगरेपछि उनले खुट्टाले लेख्न अभ्यास थाले। खुट्टाले लेखेका अक्षर निकै बान्की परेका हुन्छन्। अरूले हेलाँ होचो गरेर के भो उनले शिक्षकहरूबाट प्रशस्त माया पाए। पढाइमा उत्साह बढ्दै गयो।

आमरूपमा हेर्ने हो भने अधिकांशलाई अंग्रेजी विषय घाँडो लाग्छ। अंग्रेजीमै धेरैको ब्याक लाग्छ तर शारीरिक रूपले अशक्त विजेशले खुट्टाले लेखेर अंग्रेजी विषयमा एमए पास गर्ने सफलता पाए। उनले दुई वर्षपहिले ख्वप कलेज भक्तपुरबाट सेकेन्ड डिभिजनमा एमए पास गरेका हुन्।

अधिकांशलाई अंग्रेजी विषय घाँडो लाग्छ। अंग्रेजीमै धेरैको ब्याक लाग्छ तर शारीरिक रूपले अशक्त विजेशले खुट्टाले लेखेर अंग्रेजी विषयमा एमए पास गरे।

भक्तपुरकोे ब्यासीमा अपांग महासंघअन्तर्गत एउटा संस्था छ, ‘भ्वाइस।’ विजेश यस संस्थाका लागि प्रोपोजल लेख्छन्। फाइल रिपोर्ट बनाउँछन्। वैजनी रंगको चस्मा लगाएर हिँड्न रुचाउने उनलाई अफिसका स्टाफहरूले ‘हिरो’ भनेर सम्बोधन गर्दा उनी दंग पर्छन्।

सानुबाबु वज्राचार्य

काभ्रे नमोेबुद्धका ३१ वर्षीय सानुबाबु वज्राचार्यको सहारा बैसाखी हो। उनी जन्मिँदै शारीरिक रूपले अशक्त थिए। जीउडाल निकै पुड्को छ। होटेलको टेबलमा खाजा राख्दा कुर्सीमा बसेर खान असजिलो हुन्छ। त्यसैले, उभिएरै चिया, खाजा खान्छन्। तर उनको लक्ष्य भने निकै अग्लो छ।

एमबीएमा थेसिस मात्रै बाँकी रहेको सानुबाबु भ्वाइस संस्थामा एकाउन्टेन्ट छन्। संस्थाबाट बचेको समय उनले गीतसंगीतमा लगाउँछन्। उनले गीतको राम्रो कम्पोज गर्छन्। म्युजिक भिडियोमा पनि अभिनय गर्छन्। गायक स्वरूपराज आचार्यको ‘सपनामा तिमी…’ बोलको गीतको भिडियोमा उनको अभिनय देख्न सकिन्छ। भन्छन्, ‘आफूजस्तै अशक्तहरूको आवाज बोलेको गीतमा अभिनय गर्न मजा आयो।’

सुमन पोखरेल

चाँगुनारायणका ३५ वर्षीय सुमन पोखरेललाई मस्तिष्कको पक्षघात छ। उनको मेरुदण्ड तलको भागले काम गर्दैन। बाबुआमाका एक्ला छोरा उनी ह्विलचेयरमा हिँड्छन्। उनी भ्वाइस संस्थामा कार्यक्रम संयोजक छन्। कुनै पनि कार्यक्रमस्थलमा जाँदा आपंगमैत्री नहुँदा उनलाई सकस हुन्छ, बोकेर लान अरूको सहारा चाहिन्छ। कलेज आउजाउ गर्न समस्या, त्यसमाथि संस्थाको कामले उनले बीए पूरा गर्न सकेका छैनन्। भन्छन्, ‘समाजशास्त्रको तेस्रो वर्षमा दुइटा ब्याक छ। यो त जसरी पनि पार लगाउँछु।’

घरदैलो शिक्षा

भ्वाइसलाई नेदरल्यान्ड ग्रुपको स्टिचिंग सुभद्रा संस्थाले सघाएको छ भ्वाइसले डोर टु डोर एडुकेसन अर्थात् घरदैलो शिक्षा अभियान विगत आठ वर्षदेखि सञ्चालन गरेको छ। शारीरिक रूपले विद्यालय आउन नसक्नेहरूलाई यस अभियानअन्तर्गत उनीहरूको घरमै गएर पढाइन्छ। यसअन्तर्गत १० जना पढ्दै छन्। शारीरिक रूपले अशक्त २९ जनालाई विद्यालय शुल्क, स्टेसनरीलगायतका सहयोग गरिएको छ। ‘समुदायमा आधारित पुनस्र्थापना केन्द्र’ भक्तपुरका कार्यक्रम संयोजक रमेशराम श्रेष्ठका अनुसार भक्तपुरमा एक सय १० जना अपांग भए पनि सबैलाई सहयोग गर्न सकिएको छैन।

नेपाल अपांग महासंघ भक्तपुरको संस्थापक सूर्यभक्त प्रजापति स्थापनाकालबारे सम्झिन्छिन्, ‘सन् १९८५ मा जेसिसको अध्यक्ष थिएँ। जेसिसको कुनै नयाँ कार्यक्रम गर्ने सोचाइ अनुरूप अपांग संगठन भक्तपुरमा खोलियो।’ प्रजापतिको अनुसार त्यसबेला अपांगहरूलाई परिवारबाट छुट्ट्याई जोरपाटीको अपांग पुनस्र्थापना केन्द्र अथवा नेपाल अपांग महांसघ भृकुटीमण्डपमा लगिन्थ्यो। यसरी राज्यले मात्रै सहारा दिएर थेग्ने अवस्था थिएन।

अपांगबारे मेक्सिको, नाइजेरिया आदि देशको उदाहरण पुस्तकमा पढेर प्रजापतिको अगुवाइमा अपांगहरूलाई शिक्षाको साथसाथै सीपमूलक तालिम पनि दिइयो। प्रजापति भन्छन्, ‘भ्वाइसलगायत संस्थाको सहयोगमा अरू गाउँ ठाउँको तुलनामा भक्तपुरमा अपांगहरू शिक्षित, स्वावलम्बी भएका छन्। परिवारकोे बोझको रूपमा रहेका छैनन्।’

सुरेशको ऊर्जा

विजेश, सानुबाबु, सुमनजस्ता शारीरिक रूपले अशक्त युवाहरूलाई ५० वर्षीय सुरेश राजभण्डारीले ऊर्जा भरी दिने काम गरेका छन्। सुरेश आफैं दृष्टिविहीन छन्। २७ महिनाको उमेरमा टाइफाइड हुँदा उनले दुवै आँखा गुमाए। भक्तपुर बलाँछेका उनी बीएल गरेर अधिवक्ताको लाइसेन्ससमेत लिएका छन्। दृष्टिविहीनको संस्था आईसीवीबाट एक तालिमको सिलसिलामा जापान जाने अवसर पाएपछि सुरेशले हुँदा खाँदाको स्थायी शिक्षकको जागिर छाडे। जीवनसंगिनी गुमाएका उनी जीवनबाट निराश छैनन्। जापानी भाषा फर्रर बोल्छन्। फिजियोथेरापी, अकुप्रेसरको प्रशिक्षक पनि हुन्, उनी। भ्वाइसका पूर्वअध्यक्ष समेत रहेका उनी भन्छन्, ‘शारीरिक रूपले अशक्त युवाहरूले त आफूसँगै अरूहरूका लागि पनि केही गर्न सक्छन् भने शारीरिक रूपले सक्षम युवाहरू जीवनबाट किन निराश हुने ? ’

साउन २७ गते विश्व युवा दिवस हो। यसको सन्दर्भमा जीवन जिउने, निराश नहुने कला भक्तपुरे यी युवाहरूबाट सिक्ने कि ?
http://annapurnapost.com/news/105172

Your email address will not be published. Required fields are marked *

*